तनहुँमा चितुवा आतङ्कपछि फलामे खोर
तनहुँ | भदौ १०, २०७९
तस्बिर रासस
तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाँटारमा बुधबार साँझ चितुवाले आक्रमण गरी तीन वर्षीय बालक शुलभ परियारलाई सख्त घाइते बनाएपछि स्थानीयवासीमा त्रास पैदा भएको छ ।
चितुवाले उक्त क्षेत्रमा पटकपटक पशु र मानिसमा आक्रमण गरी घाइते बनाउन थालेपछि स्थानीयवासी त्रासित भएका हुन् । चितुवा गाउँका घरघरमा हिँड्न थालेपछि बन्दीपुरवासी डरले साँझ परेपछि घर बाहिर निस्कन सकिरहेका छैनन् ।
बन्दीपुर क्षेत्रमा चितुवाको आतङ्क बढेकाले सुरक्षित रुपमा बस्न आग्रह गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बालबालिकालाई घर बाहिर निस्कन नदिन र गाउँमा चितुवा देखिएमा तुरुन्त सम्पर्क गर्न जानकारी गराइएको उहाँले बताउनुभयो ।
स्थानीय गोजे सामुदायिक वनमा चितुवाका लागि पासो थाप्न यसअघि तीन वटा खोर राखिए पनि आज पुनःएक खोर थप गरिएको उहाँले जानकारी दिनुभयो । चारवटै खोर फलामको रहेकाले चितुवा पासोमा नपरेको भन्दै काठको खोर बनाएर राख्न गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी चितुवा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी स्थानीयवासीलाई सुरक्षाको अनुभूति गराउने कार्य गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।
खोरमा बाख्रा र कुकुरसहित राखेर कसरी चितुवालाई नियन्त्रणमा लिन सकिन्छ भन्ने सोचका साथ काम अघि बढाइएको उहाँले बताउनुभयो । त्रसित स्थानीयवासीमा सुरक्षाको अनुभूति गराउने उद्येश्यले जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा सुरक्षागस्ती खटाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्तरुपमा गस्ती परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । सुरक्षागस्तीसहित उक्त सामुदायिक वन क्षेत्रमा चितुवालाई पासो थाप्नका लागि खोर राखिएकोसमेत उहाँले बताउनुभयो ।
बुधबार साँझ करिब ५ बजेको समयमा सोही ठाउँ निवासी हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारमाथि चितुवाले आक्रमण गरेको स्थानीयवासीले बताएका छन् ।
साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेको समयमा चितुवाले बालकलाई आक्रमण गरी लगेको स्थानीय वासु पन्थले जानकारी दिनुभयो ।
चितुवाले घरदेखि करिब ५० मिटर टाढा पुर्याएको अवस्थामा आमा लक्ष्मीले चितुवाको मुखबाट छोरा खोसेर बचाउन सफल हुनुभएको छ । बालकको घाँटी तथा शरीरका अन्य भागमा गहिरो चोट लागेकाले स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बालकको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको आमा लक्ष्मीले बताउनुभयो ।
केही महिनाअघि मात्रै बन्दीपुर-१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो भने एक बालिकासहित दुई जना चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा हालसम्म एक दर्जन बढी बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाइसकेका छन् । चितुवाको आक्रमणमा परी घाइते भएका बालकको उपचारका लागि बन्दीपुर गाउँपालिका कार्यालयले रु तीस हजार सहयोग गरेको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

